रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पुगेका नेपालीहरु पछिल्लो समय विभिन्न समस्यामा पर्दै आएका छन् । यसैक्रममा गुल्मी घर भएका ४२ वर्षीय डण्डुपाणि लम्सालको आइतवार २ तलामाथिबाट खसेर मृत्यु भएको छ । लम्साल रोमानियाको ब्रासोव सहरको एसी कोटा जेरो कन्स्ट्रक्सन एसआरएल कम्पनीमा कार्यरत थिए । कम्पनीको ड्युटीमै रहेको बेला उनको लडेर मृत्यु भएको हो । रोमानियामै रहेका उनका आफन्तमार्फत् नेपालमा रहेका लम्सालको घरपरिवारलाई उनको मृत्युको बारेमा जानकारी गराइ सकिएको छ । लम्साल करिब ५ वर्ष अघि रोजगारको सिलसिलामा रोमानिया आएका थिए ।
त्यस्तै गत महिना पनि रोमानियामा एक जना नेपालीको मृत्यु भएको थियो । रोमानियाको यास सहर नजिक एक कम्पनीमा ब्याट्री पड्कदा बागलुङ घर भएका ज्ञानेन्द्र किसानको मृत्यु भएको थियो । सुनौलो भविष्यको खोजीमा विदेशी भूमिका आइपुगेका नेपाली युवा यसरी अकालमै मृत्युको मुखमा पुग्नु देशकै लागि लज्जास्पद विषय हो । देशमै उचित रोजगारको अवसर दिनेतर्फ सरकारको ध्यान जान जरुरी छ । यस दुखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक मृतकको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने इन्फो टीभी मिडिया कामना गर्दछ ।