कन्सुलर सेवा नहुँदा रोमानियाका ३७ हजार नेपाली ठूलो समस्यामा

0
829

बुकारेस्ट, रोमानिया – युरोपियन मुलुक रोमानियामा लामो समयदेखि कन्सुलर सेवाबिहिन हँुदा यहाँ कार्यरत रहेका हजारौं नेपाली नागरिकले सास्ती बेहोर्नु परिरहेको छ । रोमानियामा अवैतनिक वाणिज्य दुतसमेत नहुँदा यहाँका नेपालीले कुनै पनि महत्वपूर्ण डकुमेन्टहरुको प्रमाणिकरणका लागि ठूलो समस्या भोगिरहेका छन् । यहाँ कन्सुलर सेवा नभएका कारण कागजातहरु प्रमाणीकरणका लागि जर्मनीमा रहेको नेपाली राजदुतावासमा पठाउनु पर्ने हुन्छ । तर त्यसका लागि दूतावाससम्म डकुमेन्ट कुरियर गरि पठाउदा महंगो पर्ने यहाँ रहेका नेपाली बताउँछन् । त्यसमाथि दूतावासलाई एउटा डकुमेन्ट प्रमाणिकरण वापत् ५० युरो दस्तुर बुझाउनु पर्छ । यति गर्दा पनि समयमा डकुमेन्ट प्रमाणीकरण नभईदिदा अत्यन्तै जरुरी अवस्थामा रहेका नेपालीले ठूलो सास्ती व्यहोर्नु परिरहेको छ ।

राहदानी नवीकरणमा पनि नेपालीले समस्या भोगिरहेका छन् । गत अप्रिलमा नवीकरण गरिएकाहरुमध्ये धेरैको राहदानीहरु अझै आएको छैन । यस्तो हुँदा नेपालीले भिसा रिन्यू लगायतका धेरै समस्या खेपिरहेका छन् । लामो समय रोमानियाका लागि नेपाली अवैतानिक बाणिज्य दुत का रुपमा रहेका नवराज पोखरेल हुँदासम्म यस्ता सेवाहरु सहजरुपमै हुँदै आएको थियो । तर गत अक्टोबरबाट पोखरेल पदमुक्त भएदेखि सरकारले फेरि अवैतानिक बाणिज्य दुत नियुक्त नगर्दा नेपाली समुदाय कन्सुलर सेवाबिहिन भएका हुन् ।

अहिले यहाँ कार्यरत रहेका धेरै नेपालीको राहदानीको मिति सकिनै लागेको छ भने कतिपयको राहदानीको मिति सकिइ सकेको छ । यस्ता समस्या आउँदा धेरै नेपाली कसरी र कहाँ गएर राहदानी नविकरण गर्ने भन्नेमै अन्यौलमा छन् । रोमानियामा लगभग ३७ हजारको संख्यामा नेपाली छन् । यत्रो संख्यामा रहेका नेपालीले भोगिहरुले भोगिरहेको समस्या समाधान गर्नतर्फ सरकारले ध्यान दिनु पर्ने भन्दै नेपाली समुदायले सरकारको ध्यानाकर्षण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here