काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु. पाँच र पेट्रोलमा प्रतिलिटर रु. चारले मुल्य घटाएको हो ।
भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार मुल्य घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमले जानकारी दिएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले मुल्य घटाउने निर्णय गरेको हो ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।